
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनले ४ मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई तिहाई बहुमत प्राप्त गर्ने बताएका छन् ।
पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरे । केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो ।
उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे । ‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’
पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए । उनले जनताको जनमतलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।