
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । तर, मतदाताहरू भने अघिल्ला चुनावमा गरेको बाचा पूरा नभएको भन्दै उम्मेदवारसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
अघिल्ला चुनावमा मोरङबाट चुनाव जित्ने उम्मेदवारले सडक, पुल बनाउने योजना मात्रै ल्याएका थिएनन् ।
उनीहरूले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा दिने सपना देखाएका थिए । विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोसी राजमार्ग निर्माणमा तीब्रता दिने महत्त्वाकांक्षी योजना पनि अघिल्लो निर्वाचनको क्रममा आएका थिए । तर, ती आयोजनाका सम्बन्धमा उम्मेदवारले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन् ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्रमा अघिल्लो चुनाव जितेका नेताहरू नै उम्मेदवारकोरूपमा दोहोरिएर आएका छन् ।
२०७४ को चुनावमा मोरङ–१ मा घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डितले चुनाव जितेका थिए । क्षेत्र नम्बर–२ मा कांग्रेसका डा. मीनेन्द्र रिजालले चुनाव जितेको भए पनि यस पटक भने कांग्रेस नेत्री सुजाता कोइरालाले टिकट पाएकी छन् ।
अघिल्लो पटक चुनाव जितेका उम्मेदवारको विकासको काम त परै जाओस् अनुहारसम्म देखाउन नआएको विराटनगरका गोकुल दाहालको गुनासो छ । उनी मोरङ क्षेत्र नम्बर–६ का मतदाता हुन् ।
मोरङको क्षेत्र नम्बर–१ मा त्यसबेला बाम गठबन्धनको उम्मेदवार बनेका घनश्याम खतिवडाले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसबेला उनले वाम गठबन्धनको मतमा सजिलै चुनाव जिते । यस पटक पनि चुनावी मैदानमा पुरानै प्रतिस्पर्धीसँग खतिवडाको भेट भएको छ ।
मोरङ–१ मा खतिवडासँग कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बु चुनावी प्रतिस्पर्धा गर्दैछन् । यस पटक भने खतिवडाले अघिल्लो चुनावमा जस्तो घोषणा पत्र जारी गरेका छैनन् ।
२०७४ को निर्वाचनमा मोरङ–२ बाट चुनाव जितेका डा. मीनेन्द्र रिजालले उक्त निर्वाचन क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने दावी गरेका थिए । चुनाव जितेर उनी संघीय सरकारको मन्त्री पनि भए ।
चुनावका बेलामा उनले खोलामा तटबन्धन गर्ने, सडक कालोपत्रे गर्ने लगायतका योजना ल्याएका थिए । तर, उनका योजना पनि कागजमै सीमित भएको स्थानीय मतदाताको गुनासो छ । अहिले यो क्षेत्रबाट एमालेका नेता ऋषिकेश पोख्रेल र सत्ता गठबन्धनको तर्फबाट सुजाता कोइराला चुनावी मैदानमा आमने–सामने भएका छन् ।
२०७४ को चुनावमा एमाले नेता भानुभक्त ढकालले दिएको ‘खोलाको पाता कस्ने’ अभिव्यक्ति चर्चित थियो । त्यसबाहेक, सुकुम्बासीलाई पुर्जा दिन पहल गर्ने प्रतिबद्धता उनले गरेका थिए । त्यसबेला मोरङ क्षेत्र नम्बर–३ बाट चुनाव जितेका ढकाल पटक–पटक मन्त्री भए तर आफ्नो चुनावी बाचा कहिल्यै नसम्झिएको स्थानीय मतदाता बताउँछन् ।
कानेपोखरीका पदम श्रेष्ठ भन्छन्, ‘हाम्रो मतले चुनाव जित्नुभयो । मन्त्री पनि हुनुभयो । तर, हाम्रा समस्यामा उहाँको ध्यान गएन ।’ यस पटक ढकालका प्रतिस्पर्धी कांग्रेसका सुनिल शर्मा पनि पुरानै प्रतिस्पर्धी हुन् ।
मोरङको क्षेत्र नम्बर–४ मा भने सत्ता गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका नेता अमनलाल मोदी चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा पनि मोदी सोही क्षेत्रबाट उम्मेदवार थिए ।
त्यतिबेला उनले, सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तर्गत नमुना घर निर्माण गरिदिने लगायतका एजेन्डा लिएर चुनावी मैदानमा गएका थिए ।
चुनाव जितेपछि उनले मोरङ सिँचाई आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सुकुम्वासीका लागि नयाँ घर बनाइदिए ।
मोदीले यस पटक पनि थारू समुदायको मत लिएर चुनाव जित्ने रणनीति बनाएका छन् । उनको प्रतिस्पर्धीकारूमा एमालेका नेता विनोद ढकाल चुनावी मैदानमा आएका छन् ।
मोरङ–५ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल उम्मेदवारको रूपमा दोहोरिएका छन् ।
२०७४ को चुनावमा उनले कांग्रेसका नेता अमृत अर्याललाई पराजित गरेका थिए । त्यसबेला विराटनगरलाई प्रदेशको राजधानी बनाउने, रङेली–विराटनगर क्षेत्रभित्र औद्योगिक ग्रामको स्थापना गर्ने चुनावी एजेन्डा मण्डलको थियो । उनले यस पटक पनि सोही एजेन्डा दोहोर्याएर चुनावी प्रचार गरिरहेका छन् ।
यसपटकको चुनावमा प्रतिस्पर्धीको रूपमा एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका राजकुमार यादव चुनावी मैदानमा छन् । यस्तै एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले पनि दुवै गठबन्धनलाई चुनौती थपिरहेका छन् ।
यसपटकको चुनावमा मोरङमा क्षेत्र नम्बर–६ लाई विशेष महत्वका साथ हेरिएको छ । पुरानै प्रतिस्पर्धी यस क्षेत्रमा पनि भेट भएका छन् । एमालेका लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला चुनावी मैदानमा छन् ।
विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोसी राजमार्गको निर्माणमा तीव्रता दिने, साथै विराटनगर चक्रपथलाई स्तरोन्नति गर्ने, डुबानको समस्या समाधान गर्ने योजना पण्डितले अघिल्लो चुनावमा ल्याएका थिए ।
तर, उनले कुनै पनि योजनामा चासो नदिएको आरोप मतदाताले लगाउने गरेका छन । सोही क्षेत्रकी मतदाता रहेकी निरा अधिकारी पण्डितले विकासका नाममा एक ट्याक्टर बालुवा पनि नल्याएको दाबी गरिन् ।