
निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रसारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि ५ दिन बाँकी रहँदा मतदातालाई आ–आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् ।
निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुिक्त पार्टी, नेपाल जनता पार्टी, नेपाल सुशासन पार्टीलगायत स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।
राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यस जिल्लामा ४ प्रतिनिधिसभा सदस्यका लागि ४९ र ८ प्रदेशसभा सदस्यका लागि १०० गरी कूल १४९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
४ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ४ मा र सबैभन्दा कम क्षेत्र नम्बर १ मा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जीता झाले जानकारी दिए । उनले निर्वाचन क्षेत्र नम्बर १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार ५७८ महिला र २ अन्य गरी कूल ७७ हजार ६७९ मतदाता रहेका र क्षेत्र नम्बर २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार ८८७ महिला र ४ अन्य मतदता रहेको बताए ।
३ नम्बर क्षेत्रमा ५१ हजार ३६६ पुरुष, ३९ हजार ६२ हजार महिला र ४ अन्य गरी कूल ९० हजार ४३२ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ४ मा ५० हजार ३६४ पुरुष, ४० हजार ४८१ महिला र ४ अन्य गरी ९० हजार ८५१ मतदाता रहेको प्रमुख झाको भनाइ छ । ४ प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेशसभा सदस्यका लागि कूल १६७ मतदानस्थल र ४१२ वटा मतदान केन्द्र रहेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छ भने सबैभन्दा कम क्षेत्र नम्बर ४ मा मात्र ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनले क्षेत्र नम्बर २ र ३ मा १०/१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ छन् ।
प्रतिनिधि सभामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेसँगको गठबन्धनबाट जसपाका प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति द्विवेदीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेस सहितको ५ दलीय गठबन्धनबाट क्षेत्र नम्बर १ मा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस सहितको ५ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र एमालेसँगको गठबन्धनका उम्मेदवार जसपा नेता सुरेन्द्रप्रसाद कुर्मीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
गत निर्वाचनमा श्रीवास्तावले २१ हजार १६९ मत ल्याएकामा चौरसियाले १९ हजार ७०४ मत पाएका थिए ।
निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न गत आम निर्वाचनमा फोरमका उम्मेदवार हरिनारायण रौनियारले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १ हजार ३०० भन्दा बढी मतले पराजित गरेका थिए । रौनियारले १५ हजार १६८ मत ल्याएकामा चौधरीले १३ हजार ८०१ मत ल्याएका थिए । क्षेत्र नम्बर ४ मा फोरमका उम्मेदवार लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालाई ६ हजारभन्दा बढी मतले पराजित गरेका थिए ।
गत निर्वाचनमा कर्णले २० हजार ७३८ मत ल्याएकामा उनका निकटम प्रतिद्वन्द्वी रिजालले १४ हजार ७०२ मत प्राप्त गरेका थिए । कर्णले यसपालि नेपाली कांगे्रस सहितको ५ दलीय गठबन्धबाट निर्वाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको टिकटबाट उम्मेदवारी दिएका हुन् ।
जिल्लामा उम्मेदवारी दर्ता गराएकामध्ये स्वतन्त्र उम्मेदारको संख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्प्रर्धा हुने देखिन्छ । पर्साको १२ पदका लागि जम्मा ३ महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट २ र १ स्वतन्त्र महिला उम्मेदवार रहेका छन् । – विजयकुमार महतो/रासस