
वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम शुरू गरिएको छ ।
वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।
यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले बताए ।
अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी दिए । आवश्यक उपकरण सहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्ट लगायत केही काम शुरू गरिएको उनले बताए ।
बुधवारदेखि सुरुङ खोतल्ने काम शुरू हुने उनको भनाइ छ । सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत वर्षभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए ।
जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ । उनका अनुसार सडक अवरुद्ध भएकाले मशिन आयोजनास्थलमा पुर्याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो ।
विक्रम संवत् २०७८ असार १ गते बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो हप्तासम्म पानी लगिएको थियो ।
विक्रम संवत् २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्नेछ ।