
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् ।
बुधवार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दीगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए ।
उनले भने, ‘दीगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने छ ।’
परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ संकल्पसहित गठबन्धन अघि बढेको बताए ।
मंसिर ४ गतेको निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रूपमा लिन पनि उनले आग्रह गरेका छन् ।