
लुम्बिनी प्रदेशको स्थायी राजधानी आगामी प्रदेश सभाको बहुमतले बुटवलमा नै फिर्ता ल्याउन सकिने भनी एमाले उपाध्यक्ष विष्णु पौडेलले दिएको अभिव्यक्तिलाई समर्थन र बल पुग्ने गरी कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको अभिव्यक्ति आएको छ ।
स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा कुनै पूर्वाधार नभएको भन्दै उनले बुटवल नै कायम गरिने बताएका हुन् । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे ।
‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, खानेपानी, सिँचाइ, सडक, भवन बनाउँदा नेपाल सरकारको खर्बौं रकम खर्च हुन्छ, यतिधेरै सरकारको रकम खर्च गर्न सकिँदैन । प्रदेशले त्यसलाई परीक्षण गरोस् । निर्णय सच्याओस्,’ उनले भने ।
गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको पनि स्मरण गरे । उनले भौतिक पूर्वाधारको विकास, केन्द्र र हवाई संजालको सुगमताका कारण राजधानी बुटवलमै हुनुपर्नेमा जोड दिए । सेनाको प्रदेश मुख्यालयसमेत रुपन्देहीमै स्थापना गरेको बताउँदै उनले पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुनर्विचार हुने दाबी गरे ।
गृहमन्त्री खाँणले प्रदेश सरकारले चुनावको मुखमा बुटवलका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै आक्रोश समेत पोखे । उनले सहमति विना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनीसमेत दिए । ‘रुपन्देहीका जनतालाई थाह नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ, ’ उनले भने ।
यसअघि गत शुक्रबार हिमालय टेलिभिजनले रुपन्देहीको भलबारीमा गरेको निर्वाचन विशेष कार्यक्रममा नेता पौडेलले राजधानी बुटवलनै सार्न सकिने बताएका थिए । 'राजधानीको निर्णय कुनै ढुंगाको अक्षर हैन, चकले लेखेको अक्षरलाई अर्को प्रदेशसभाले डस्टरले मेट्न सक्छ, यो प्रदेश सभाको कुनै अन्तिम र अपरिवर्तनीय विषय हैन, संविधान त परिवर्तन गर्न सक्छौँ,’ उनको भनाइ थियो ।
पौडेल र खाँण दुवै रुपन्देहीका हुन् । लुम्बिनी प्रदेशसभाले २०७८ असोज २१ मा बहुमतको बलमा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो ।