
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले आज दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र ब्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने दाबी गरे । “देशभर भएका कार्यक्रममा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसकेको छ”, उनले भने, “खोटाङको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टी, गठबन्धन र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”