
मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करीब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् ।
आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।
आयोगमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।
‘सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।’