
वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा आज भएको फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव चार ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र ४१ रन जोड्न सक्यो । डडेल्धुराका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले पाँच ओभरमा पाँच रन खर्चंँदै सर्वाधिक ह्याट्रिकसहित पाँच विकेट लिएर टिमलाई विजय दिलाउन सफल भए ।
बयालिस रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको कञ्चनपुरले आठ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै विजयी भयो । कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले २३ बलमा अविजित १९ रन बनाए । राहुल चन्दले १७ बलमा १२ रन बनाउन सफल भए । बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले चार दशमलव एक ओभरमा २५ रन खर्चंदा कृष्ण विष्टले पनि एक ओभरमा एक रन खर्चंदै समान एक÷एक विकेट लिन सफल भए ।
उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी धामीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको जानकारी दिए। त्यसैगरी डडेल्धुराका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री प्रतियोगिताको उत्कृष्ट बलरको अवार्डबाट सम्मानित भएका छन् ।