पाकिस्तानको निगरानी गर्ने भारतीय भूउपग्रहहरूमाथि नजर राख्नका लागि चीनले पाकिस्तानलाई शक्तिशाली एसएलसी–१८ दिने भएको छ ।
अहिले भारतीय उपग्रहहरूले पाकिस्तानको ८७ प्रतिशत क्षेत्रमा निगरानी गरिरहेका छन् । कराचीको गल्लीदेखि पेशावरको जंगलसम्मको गतिविधिमा भारतले नजर लगाउन सक्छ । त्यसलाई चीनले चुनौती दिन खोजेको छ ।
न्युजवीकमा प्रकाशित रिपोर्टअनुसार, चीनले अत्याधुनिक स्पेस सर्भेलान्स रेडार एसएलसी–१८ दिने निर्णय गरेको छ । यस रेडारलाई चीनको सरकारी कम्पनी चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनले बनाएको हो । यस कम्पनीले चिनियाँ सेनाका लागि अनेकौं क्षेप्यास्त्र, रेडार र विद्युतीय उपकरणहरू बनाइसकेको छ ।
कम्पनीका उपप्रमुख सुन लेईले भने, ‘यस रेडारमार्फत मित्र देशहरूले भूउपग्रहहरूलाई सस्तो मूल्यमा निगरानी गर्न पाउनेछन् । यसबाट लो अर्बिटिङ स्याटलाइटको स्थितिको जानकारी प्राप्त हुन्छ । युद्धको समयमा यसले शक्ति सन्तुलनमा भूमिका खेल्छ ।’
लो अर्थ अर्बिट अर्थात् एलईओ भूउपग्रह पृथ्वीबाट २०० देखि २ हजार किलोमिटर माथि रहन्छ । एलईओ भूउपग्रह डेटा संकलन तथा सैन्य निगरानीका लागि उपयोग गरिन्छ । सानो आकार र लचिलो अर्बिटका कारण यसले सबै महत्त्वपूर्ण स्थानको ३६० डिग्रीका साथ निगरानी गर्न सक्छ ।
विश्लेषकहरूका अनुसार, चीनले यो शक्तिशाली रेडार पाकिस्तानलाई दिएमा भारतको चिन्ता बढ्नेछ । यस रेडारले भारतको सैन्य तथा जासूसी डेटा संकलन गर्नेछ । भारतको सैन्य भूउपग्रहको जानकारी पनि पाकिस्तानले पाउनेछ ।
चिनियाँ रेडार अत्याधुनिक भएकाले भूउपग्रहको डेटा पृथ्वीमा रहेको कमान्ड सेन्टरलाई पठाउन सक्छ । त्यसबाट सेन्टरले तत्काल निर्णय लिँदा युद्धको स्थितिमा निकै फाइदा उठाउन सक्छ ।