आंग्लभाषी मुलुकहरूको समूह फाइभ आइजका मुलुकहरूले चीनका विषयमा स्वतन्त्र परराष्ट्रनीति नअपनाउने गरेको रहस्य बेलायतका प्रधानमन्त्री ऋषि सुनकले खोलेका छन् ।
फाइभ आइजमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्ड छन् ।
सुनकले इन्डोनेसियाको बालीमा आयोजित जी२० शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै बेलायतको नीति साझेदारहरूसँग पूरै मिल्ने बताए ।
‘तपाईंले केही साताअघि प्रकाशित अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीति अध्ययन गर्नुभयो भने त्यसमा उनीहरूले चीनका विषयमा गरेको वर्णन तथा चीनसँग गर्नुपर्ने व्यवहार स्पष्ट पारिएको छ,’ सुनकले भने, ‘क्यानडा र अस्ट्रेलियाले बनाएको सुरक्षा रणनीतिमा पनि लगभग त्यस्तै कुरा छन् ।’
यसको अर्थ हुन्छ, चीनले अमेरिकालाई खुशी बनाएमा आंग्लभाषी मुलुकहरूले पनि चीनअनुकूल परराष्ट्रनीति बनाउनेछन् ।
लन्डन, क्यानबेरा, ओटावा र वेलिङटनमा नभई वाशिङटनमा फाइभ आइज अलायन्सको परराष्ट्रनीति बन्ने गर्छ ।