
मौन अवधिको बीचमा मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका एमाले उम्मेदवार दीपक निरौलाले कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् ।
‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतडकित पार्ने कार्य नगरेको राम्रो हुन्छ’, उनले भनेका छन् । आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् ।