
आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका लगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । २ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका ८७ वटा मतदानस्थलका १५७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो ।
भोजपुरमा निर्वाचनका लागि सरकारी कर्मचारी र शिक्षक गरी १ हजार २४६ कर्मचारी खटाइएको छ भने म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
निर्वाचन सुरक्षाका लागि सबै तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । ‘हामीले म्यादी प्रहरीसहित ३ वटै निकायबाट सुरक्षाकर्मी परिचालन गरिसकेका छौं, निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि कर्मचारीसहित सबै व्यवस्थापन गरिएको छ,’ उनले भने ।
निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन् । मतदाताका आधारमा मतदान केन्द्रमा ४ वटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिए । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भंग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्नेछन् ।
प्रतिनिधि सभाका लागि १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा ५९ हजार २५३ महिला र ६४ हजार १२५ पुरुष गरी कूल १ लाख २३ हजार ३७९ मतदाता रहेका छन् । प्रतिनिधि सभातर्फ १२, प्रदेशसभा (१) मा ७ र प्रदेशसभा (२) मा ६ गरी २५ जना दलका र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।