
आइतबारको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका उपत्यकाका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु शुक्रबार हटाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उनले ती वस्तुहरू ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्काे बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए ।
निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए । उनले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा कूल पाँच हजार चार सय ७३ म्यादी र चार हजारमाथि नेपाल प्रहरी निर्वाचनका लागि खटिएका जानकारी दिए। नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित रहेका छन् । अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उनले बताए ।