
स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले तीनजना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले शुक्रबार पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२) का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधिएको छ । निर्वाचनको स्थिर अवधि सुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
त्यस्तै, प्यूठान जिल्लाबाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई रु दुई हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको विषयमा आयोगले थापासँग स्पष्टीकरण मागेको हो ।
त्यसैगरी आयोगले गण्डकी प्रदेशसभा सदस्य मनाङ (२) का उम्मेदवार एवं गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई रु २५ हजार जरिवानासमेत गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार’. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो । गुरुङले एक अन्तर्वार्ताका क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्न माध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।