०२ असार २०८३, मंगलबार

बालविवाह अन्त्यका निम्ति अभियान प्रारम्भ

कात्तिक २०, २०७४
बालविवाह अन्त्यका निम्ति अभियान प्रारम्भ

काठमाडौं, २६ साउन – बालविवाहको समस्यालाई सम्बोधन गर्ने र नेपालमा बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालले संयुक्त रूपमा बिहीवार पाँच वर्षे “नेपाली जुटौं, बाल विवाह रोकौं” अभियानको शुभारम्भ गरेका छन् ।


यो अभियानले दिगो विकासका लक्ष्यहरू खासगरी दिगो विकास लक्ष्य नं. ५.३ र १६.२ ले निर्दिष्ट गरेको लक्ष्य पूरा गर्न सरकारलाई सहयोग गर्नेछ ।

“नेपाली जुटौं बाल विवाह रोकौं” अभियानको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा विभिन्न उच्चपदस्थ व्यक्तित्वहरू, नागरिक समाज र बालबालिकाको उपस्थिति रहेको थियो ।

अभियानको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “बालविवाहको उन्मूलन आवश्यक छ । बालविवाहले बालबालिका र समुदायमा नकारात्मक असर गर्दछ । बालविवाह अन्त्यको निम्ति शुरु गरिएको यस अभियानमा हाम्रो समर्थन र साथ छ ।”

यसैक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ हान्ना साटोले भनिन्, “नेपालको कानूनले महिला र पुरुष दुवैका लागि विवाहको उमेर २० वर्ष तोकेको भएतापनि नेपालमा अझै पनि बालविवाहको प्रचलन ग्रामीण र शहरी दुवै क्षेत्रमा व्याप्त देखिन्छ ।”

उनले थपिन्, “बालविवाह मानवअधिकारको उल्लंघन हो किनभने यसले गर्दा बालविवाह गर्ने दुवैको र खास गरी बालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँचको हक हनन हुनुका साथै सिक्ने, अगाडि बढ्ने र भविष्यको योजना तय गर्ने हकको पनि हनन हुन्छ । यसले गर्दा उनीहरू गरीबीको चक्रमा फस्दै जान्छन् । बालविवाह उन्मूलन गर्न अभिभावक, विद्यालय, समुदाय, सरकार, कर्पोरेट र समग्र समाजले जिम्मेवारी वहन गर्नुपर्छ ।”

सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले भने, “हाम्रो संविधान, ऐन, कानून र नीतिनियमको मर्म र भावना अनुकूलको सामाजिक एवं सांस्कृतिक व्यवहार स्थापित गर्ने दायित्व सामुदायिक रेडियो एवं सञ्चारमाध्यम र सबै सचेत नागरिकको हो ।”

बहुक्षेत्रगत विधि अवलम्बन गरी यो अभियानले जोखिममा रहेका महिला र बालबालिकाको संरक्षणका लागि स्थानीय तहदेखि केन्द्रसम्म कानूनी तथा सामाजिक प्रणाली सुदृढ गर्नेछ, लैङ्गिक हिंसा र दुर्व्यवहारको जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षणका लागि बालबालिका लगायत समग्र समुदायको उत्थानमा वृद्धि गर्नेछ र बालविवाह अन्त्यका लागि बहुक्षेत्रगत कार्य गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्