०२ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

यी हुन् कांग्रेसका कान्छा सांसद योगेश, बुवाले आफ्नै टिकट दिएर जिताए

यी हुन् कांग्रेसका कान्छा सांसद योगेश, बुवाले आफ्नै टिकट दिएर जिताए

मुस्ताङबाट २९ वर्षीय योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी पूर्वमन्त्री एवं कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।

पूर्व वाणिज्य मन्त्रीसमेत रहेका रोमीले २०५६ र २०७० सालमा चुनाव जितेका थिए । २०६४ र २०७४ को चुनावमा भने पराजित भए ।

यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसले मुस्ताङको टिकट रोमीलाई नै दिने तयारी गरेको थियो ।

तर, उनले चुनावी प्रतिस्पर्धामा आफ्नै २९ वर्षीय छोरा योगेशलाई अगाडि सारे ।

रोमीका छोरा योगेशले २०७९ को प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट जीतको खाता खोलेका छन् ।

उनी टिकट पाउनेबित्तिकै कांग्रेसका कान्छा उम्मेदवार भन्दै चर्चामा आएका थिए ।

आज उनै कान्छा उम्मेदवार योगेश मुस्ताङबाट विजयी भएका छन् । उनी निवर्तमान सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै सांसद बनेका हुन् । 

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार ९९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् । 

आइतबार भएको चुनावमा १० हजार ९५७ मतदातामध्ये सात हजार २३० अर्थात् ६५.९८ प्रतिशत मत खसेको थियो । गौचन मुस्ताङको थासाङ गाउँपालिका– ३ लेतेका बासिन्दा हुन् । 

विद्यार्थी राजनीतिबाट आएका योगेश अहिले नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश पछिल्लो समय राजनीति र व्यापारमा सक्रिय छन् । 

कांग्रेस नेता रोमी गौचन थकालीले प्रत्यक्षमा छोरालाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसले जनजातितर्फको समानुपातिक सूचीको ३५ नम्बरमा उनको नाम सिफारिस गरेको थियो ।

तर, उनले समानुपातिक सूचीबाट पनि आफ्नो नाम फिर्ता लिइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्