२३ जेठ २०८३, शनिबार

हुम्ला र डोल्पाका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिँदै

हुम्ला र डोल्पाका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिँदै

कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका मतपेटिका संकलन गर्न हेलिकोप्टर पठाइएको छ ।

निर्वाचन आयोगले सडक पहुँचसँग नजोडिएका ती जिल्लाका अधिकांश मतदान केन्द्रबाट मतपेटिका संकलन तथा ढुवानी गर्न हेलिकोप्टरको व्यवस्था मिलाएको हो । 

हुम्लाका जिल्ला निर्वाचन अधिकारी श्याम रानाले मतपेटिका ढुवानी गर्न सुर्खेतबाट हेलिकोप्टर आइसकेको बताए । उनका अनुसार नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चंखेली, ताजाकोट अदानचुली गाउँपालिकाका मतदान केन्द्रमा राखिएका मतपेटिका सदरमुकाम सिमकोट ल्याउन थालिएको छ ।

हुम्लामा मतपेटिका संकलनसँगै हेलिकोप्टर डोल्पा पठाइएको छ । हुम्लामा मतपेटिका संकलन कार्य जारी छ ।

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर सार्कीले माथिल्लो डोल्पाका २२ र तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिका रहेका केन्द्रहरूबाट हेलिकोप्टरले मतपेटिका ढुवानी गरी सदरमुकाम दुनै ल्याइने जानकारी दिए । मतदान आइतवार सम्पन्न भए पनि ढुवानीमा भइरहेको ढिलाइले मतगणना शुरू हुन सकेको छैन । 

अर्को हिमाली जिल्ला मुगुमा भने मतपेटिका संकलन तथा ढुवानी जारी छ । छायाराथ रारा नगरपालिकाका २३ केन्द्रबाहेक अन्यत्रबाट ढुवानी गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मुगुमा मतदान केन्द्रहरूबाट मानिसले बोकेर मतपेटिका सदरमुकाम ल्याउने निर्वाचन अधिकारी विष्णु न्यौपानेले बताए । ‘निर्वाचन आयोगले हेलिकोप्टरबाट ढुवानीको व्यवस्था मिलाउन चासो दिएन,’ उनले भने, ‘मानिसले बोकेरै सदरमुकाम गमगढी ल्याउन लागिएको छ, भोलि साँझसम्म सबै मतपेटिका ल्याउने गरी समन्वय गरिरहेका छौं ।’

कर्णालीका अन्य जिल्लाका मतपटिका सम्बन्धित निर्वाचन क्षेत्रका मुकाममा आइसकेका छन् । सुर्खेत–२ को वीरेन्द्रनगरस्थित सभाहलमा मतगणना शुरू गर्ने तयारी छ । सुर्खेत–१ को सिम्ता बहुमुखी क्याम्पस केन्द्रमा आइतवार मतदान स्थगित भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले मतदानको मिति तय गरिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्