
सडक पहुँच नपुगेका हुम्ला र डोल्पामा यतिबेला हेलिकोप्टरले धमाधम मतपेटिका ओसारिरहेको छ । उस्तै हिमाली जिल्ला मुगुमा (जो हुम्ला र डोल्पाको बीचमा पर्छ) भने भरियाले अप्ठ्यारो बाटो छिचोल्दै मतपेटिका सदरमुकाम गमगढीतर्फ ल्याउँदैछन् । त्यो पनि झण्डै ४८ घण्टा लामो कष्टकर यात्रा पार गरेर ।
आइतबार शान्तिपूर्णरुपले मतदान सम्पन्न भएपनि मतपेटिका ढुवानीमा ढिलाइ हुँदा मुगुका निर्वाचन कर्मचारी त्रासमा छन् ।
‘डरलाग्दा भीरपाखामा आफ्नो र मतपेटिकाको सुरक्षा गर्दै कर्मचारी र भरियाहरु सदरमुकाम आउनुपर्ने अवस्था छ’, जिल्ला निर्वाचन अधिकारी विष्णु न्यौपानेले भने, ‘हेलिकोप्टरको लागि धेरै प्रयास गरिएको हो, तर निर्वाचन आयोगले मुगुलाई प्राथमिकतामा राखेन ।’
गमगढीमा सडक सञ्जाल जोडिए पनि त्यहाँका अधिकांश गाउँबस्तीमा अझैं मोटरबाटो पुगेको छैन । भीमकाय पहाड छिचोल्दै दैनिकी गुजार्नु आम सर्वसाधारणझैं निर्वाचन टोलीको पनि बाध्यता बनेको छ । अति विकट भूगोलका कारण यहाँका अधिकांश बाटोहरु अति साँघुरा छन् ।
निर्वाचन आयोगले चासो नदिँदा हेलिकोप्टरको पखाईमा बसेका सुरक्षाकर्मीरकर्मचारीको टोली निराश बनेको छ । जिल्ला निर्वाचन अधिकारी न्यौपानेले पैदल यात्राका कारण मतपेटिका र कर्मचारी/भरियाको सुरक्षामा चुनौति थपिएको बताए ।
उनका अनुसार सोरु गाउँपालिका–२ मा आइतबार एक जना मतदाताको भीरबाट लडेर घटनास्थलमै मृत्यु भयो ।
त्यस्तै निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ गइरहेका एक कर्मचारी सोरु गाउँपालिकामै भीरबाट लडेर घाइते भए । उनी सामान्य उपचारपछि काममा फर्किए ।
छायाँनाथ रारा नगरपालिकाबाहेक अन्य स्थानीय तहमा रहेका मतदानस्थलबाट मतपेटिका आइपुगेका छैनन् । एउटा मतदान केन्द्रमा चारवटा पेटिका (बाकस) हुन्छन् । ती बोक्नलाई चार जना भरिया आवश्यक पर्छ । मुगुमा अस्थायीसमेत गरी ६७ मतदान केन्द्र छन् ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आयोगले हिउँ परेका जिल्लाका मतपेटिका ढुवानीमा प्राथमिकता दिएका कारण हेलिकोप्टर पाउन नसकेको बताए । ‘सबैतिरबाट नआई मतगणना शुरु हुने कुरा भएन, मतपेटिका आउन भोलिसम्म समय लाग्छ नै’, उनले भने, ‘निर्वाचन आयोगले अन्य जिल्लाको मतपेटिका ढुवानी गरेपछि मात्र यहाँ पठाउने भनेपछि हामीले भरियाबाटै ओर्सान थालेका हौं ।’