
अर्घाखाँचीमा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसभातर्फ १ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २ क्षेत्र रहेको अर्घाखाँचीमा एमालेले ‘क्लीन स्वीप’ गरेको हो ।
अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ टोपबहादुर रायमाझी र प्रदेशसभातर्फ चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका हुन् । एमाले सचिव रायमाझीले कांग्रेस नेतृ पुष्पा भुसाललाई एक हजार ७३० मतान्तरले पराजित गरी लगातार चौथो पटक संसदीय यात्रा तय गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका रायमाझीले ४२ हजार ६७५ मत ल्याउँदा पूर्वउपसभामुख भुसालले ४० हजार ९४५ मतमात्र ल्याउन सकिन् । योसँग टोपबहादुरको संसद् यात्रा अविराम जारी छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि उनी अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् ।
२०७० सम्म अर्घाखाँचीमा दुई वटा निर्वाचन क्षेत्र थिए । दुई पटक माओवादी, एक पटक बाम गठबन्धन र अहिले एमालेबाट जीत निकालेका हुन् । तत्कालीन नेकपा विभाजन भएपछि उनी एमालेमै रहेका थिए । एक वर्ष अगाडि चितवनमा सम्पन्न एमालेको महाधिवेशनबाट रायमाझी सचिव पदमा निर्वाचित भए । रायमाझी पूर्वउर्जा तथा उपप्रधानमन्त्रीसमेत हुन् ।
त्यस्तै, प्रदेशसभा-१ तर्फ एमालेका नेता चेतनारायण आचार्य ७४० मतान्तरले विजय भए । राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत ल्याउन एमालेका आचार्यले २० हजार ५१८ मत ल्याए ।
त्यस्तै प्रदेश-२ तर्फ पनि एमालेकै रामजीप्रसाद घिमिरे ८०१ मत अन्तरले विजय भए । घिमिरेका प्रतिस्पर्धीले कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९७५ ल्याउँदा घिमिरेले २२ हजार ७७६ मत ल्याए । स्थानीय तह निर्वाचनमा पनि अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये एमालेले ४ वटामा जीत निकालेको थियो ।