०८ साउन २०८३, शुक्रबार

को हुन् फराकिलो मतान्तरले विजयी भएका भीम आचार्य ?

मंसिर १०, २०७९
को हुन् फराकिलो मतान्तरले विजयी भएका भीम आचार्य ?

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।

विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिएका थिए । सुनसरीको इनरुवा-६ (साविक मधेसा गाविस-९)का स्थायी बासिन्दासमेत रहेका आचार्यले विसं २०५१ र २०५६ मा सुनसरी-४ बाट संसदीय यात्रा गर्दा पराजय भोगेका थिए । 

विसं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले विजय हासिल गरे । पहिलोपटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो भए । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए।

त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहेका आचार्य २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी भए । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोरे ।

 माधवकुमार नेपाल निकट मानिने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा भने एमालेमै बसेर पार्टी संरक्षणमा लागे । त्यसलगत्तै उनलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो । 

विसं २०१६ मा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । 

उनी विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा लागे । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गरेका उनी विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि परे । २०४६ को जनआन्दोलनमा उनी नेकपा (माले)को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि  पार्टी राजनितिमा उदाएका थिए ।

विसं २०४७ मा एमाले गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव भए ।  उनी २०५४ मा पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाएका उनी नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्