माघ ६, २०७९
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । ...
'जय मधेशके मन्तर हेरा गेलै दैया गे,
बीचेबाट पार्टीए फेरा गेलै दैया गे,
साइकिलसे छ्त्ता ल'के गाछी पर जे चढलै,
सूर्य दिस बढलै आ सेरा गेलै दैया गे,
कोनो गेलै सम्धीमे ट कोनो दाजु-भौजीमे,
कोनो एके जातिमे घेरा गेलै दैया गे,
अपनामे बँटलै आ दोसरा मे सटलै,
तेसरा से पटलै, घिना गेलै दैया गे !'
गएको तिहारमा सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसीभैलोमा गाइएको गीत हो यो । नेपाली तथा मैथिली भाषा साहित्यमा कलम चलाउने साहित्यकार धीरेन्द्र प्रेमर्षीले आफैंले लेखेको गीत मैथिलीमै गाएका थिए । उक्त गीत गएपछि मधेशवादी दलका नेतादेखि कार्यकर्तासम्मले प्रेमर्षीको चर्को आलोचना गरे ।
गीतको भाव थियो– मधेशकेन्द्रित दलहरूले विगत १५ वर्षदेखि जयमधेशको नारा लगाएर प्राप्त गरेको शक्ति हराउँदै गएको छ । जयमधेशको मन्त्र हराइसक्यो । त्यसैगरी एउटा पार्टीबाट नोमिनेसन गर्न जाने र बीचबाटोमै पार्टी परिवर्तन गर्नेहरूप्रति पनि गीतमा व्यंग्य गरिएको थियो । साइकलबाट छाता लिएर रुखमा चढ्दै सूर्यतर्फ लम्किदा मुद्दा सबै सेलायो भन्ने भाव गीतमा थियो ।
त्यसैगरी लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो सम्धीलाई बोकेको, जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दाइ जयकान्त राउतलाई उम्मेदवार बनाएको तथा उपेन्द्र यादवले आफ्नो जातिलाई मात्र बोकेको भनेर व्यंग्य गरिएको थियो । आफूआफूमा विभाजित भएर अरूसँग टाँसिन जाँदा घिनाइसकेको भाव समेत गीतमा समावेश थियो ।
अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा मधेशमा फेरि एकपटक धेरैले यो गीतलाई सम्झिएका छन् । मधेशकेन्द्रित दलहरूप्रति जनतामा बढ्दो वितृष्णालाई यो गीतले थप उजागर गरिदिएकाले चुनावी नतिजा प्रभावित भएको कतिपयको तर्क छ । परिणाम स्वरूप नेपाली कांग्रेस र नेकपा एमालेले मधेशमा दमदार कमब्याक गरेका छन् ।
साहित्यकार प्रेमर्षी सोही गीतका कारण हामीले हार्यौं भनेर मधेशकेन्द्रित दलका कतिपय नेता कार्यकर्ताले आफ्नो आलोचना गरिरहेको बताउँछन् । 'त्यो व्यंग्यात्मक गीत गाउँदा कतिपयले पहाडीको दलाल हो, ब्राम्हणवादको पक्षपोषक हो भन्दै आलोचना गर्नुभएको थियो,' प्रेमर्षीले लोकान्तरसँग भने, 'अहिले चुनावको नतिजा आइसकेपछि तपाईंकै गीतका कारण पनि मधेशवादीले हार बेहोर्नुपर्यो भनेर समेत भन्न थाल्नुभएको छ ।'
आफूले गीतमार्फत यथार्थ चित्रण गरेको उनको दाबी छ । '२५ वर्षदेखि सिस्नुपानीको कार्यक्रममा देशको राजनीतिक अवस्थाबारे व्यंग्य गरिन्थ्यो । तर, यसपटक मधेशको राजनीतिक अवस्थाबारे पनि केही लेख्नुपर्यो भनेर मैले उक्त गीत लेखेर गाएको थिएँ,' प्रेमर्षीले थपे, 'मैले त तत्कालको जे अवस्था थियो त्यसको चित्रण मात्र गरिदिएको थिएँ। मधेशवादी दलहरूले आफ्नो कमजोरी सच्याउन भन्ने मेरो आशय थियो ।'
****
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट प्रतिनिधिसभामा सबैभन्दा बढी १० सीट जसपाले जितेको थियो। त्यसैगरी लोसपाले ९, कांग्रेसले ६, माओवादी केन्द्रले ५ र एमालेले २ क्षेत्रमा जीत हात पारेका थिए । तर यसपटकको चुनावबाट मधेशवादी दलको स्थिति अत्यन्त नाजुक बनेको छ।
मधेश प्रदेशको ३२ सीटमध्ये ३१ सीटको नतिजा आइसकेको छ। हालसम्म एमालेले ८, कांग्रेसले ७, जसपाले ६, लोसपाले ३, नेकपा एसले २, नेकपा माओवादी केन्द्रको चिह्नबाट १ र जनमत पार्टीले १ सीट जितेका छन् । ३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
मधेश आन्दोलनका कमाण्डर तथा सर्वाधिक शक्तिशाली नेता जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं पराजित भएका छन् ।
२०६४ सालको पहिलो संविधान सभा, २०७० सालको दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधिसभा चुनावमा जित्न सफल भएका जसपा अध्यक्ष यादव यसपटक पराजित भए ।
मधेश आन्दोलनबाट चम्किएका अर्का नेता लोसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो समेत पराजित हुन पुगे । त्यसबाहेक धेरैजसो ठाउँमा जसपा र लोसपाका नेताहरू पराजित भएका छन्।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतो मधेशवादी दलहरू मधेश आन्दोलनको एजेन्डाबाट विमुख हुँदा पराजित भएको बताउँछन्। उनीहरूको हारमा कार्यसम्पादन नै प्रमुख कारण रहेको उनको बुझाइ छ ।
'मुद्दा प्राप्तिका लागि सक्रियतासम्म पनि उहाँहरूले देखाउनु भएन,' उनले लोकान्तरसँग भने, 'सत्ता प्राप्तिका लागि उहाँहरूले मुद्दालाई जसरी बेवास्ता गर्नुभयो, त्यसले जनतामा निराशा थियो ।'
मधेशकेन्द्रित दलहरूको विभाजन पनि हारको अर्को कारण रहेको उनको बुझाइ छ । 'जसपा र लोसपा विभाजन हुनुपनि अर्को कारण हो,' उनले थपे, 'ती दुवै दलका नेताहरूले आ-आफ्नो इगो र स्वार्थका कारण पार्टी विभाजन गरेपछि जनतामा निराशा आएको थियो। त्यसैको परिणाम पनि यो पराजय हो ।'
प्राध्यापक परमेश्वर कापड मधेश आन्दोलनको सेन्टिमेन्टलाई मधेशका नेताहरूले सत्ता प्राप्तिसँग साटेका कारण चुनाव हार्न पुगेको तर्क गर्छन् ।
'लामो समयदेखिको विभेदविरुद्ध स्वस्फुर्त रूपमा सम्पूर्ण मधेशी जनता सहभागी भएर सहादत समेत दिएको आन्दोलनबाट अनुमोदित मुद्दाका बलमा यिनीहरू पटक-पटक जित्न त सफल भए, तर ती नेताहरू मधेशको मुद्दाप्रति बफादार रहेनन्। लोयल रहन सकेनन् । मुद्दालाई संवैधानिकता प्रदान गर्न लाग्नुको साटो सत्ताको पछि लागे,' उनले भने ।
कापडले थपे, 'जसपा र लोसपामा आaद्ध भएकालाई मात्र उनीहरूले मधेशी माने र अवसर दिए। अन्य मधेशीलाई विभेद गरे,' कापडले थपे, 'त्यसकारण दुवै दल फरक–फरक गठबन्धनमा भए पनि अन्य मधेशीले उनीहरूलाई हराइदिए ।'
मधेशको नाममा राजनीति गर्नका लागि मिथिलाको पहिचान मेटाउनु पनि तेस्रो कारण रहेको उनको बुझाइ छ।
'मधेशको नाममा मिथिलाको गौरवपूर्ण पहिचान, सभ्यता, संस्कृति समेतलाई अपहेलना गर्दै अस्वीकृत गर्नुपनि उनीहरूको हारको कारण हो,' उनले भने ।
राष्ट्रिय पार्टी भन्ने लोभमा मधेशी शब्दावली नामबाटै हटाएको असर पनि चुनावमा देखिएको हुनसक्ने उनको बुझाइ छ ।
'मधेशको मुद्दा लिएर जन्मिएका पार्टीहरूले आफ्नो पार्टीको नामबाट नै मधेशी पहिचान हटाउनु, मधेशीपन हटाउनु पनि हारको कारण हो,' कापडले लोकान्तरसँग भने।
मधेश प्रदेश सरकारमा मुख्य न्यायाधिवक्ता रहिसकेका दीपेन्द्र झा महोत्तरी- ३ मा जसपाबाट प्रदेश सभा सस्दयका उम्मेदवार थिए। उनी लोसपाका अभिराम शर्माबाट पराजित भए।
झा मधेशको मुद्दा बोक्ने दुई प्रमुख पार्टी जसपा र लोसपा एक अर्काको प्रतिस्पर्धी भएर भिड्दा समेत नेपाली कांग्रेस र नेकपा एमालेले फाइदा उठाएको बताउँछन्।
'मिलेर जानुपर्ने दुईशक्ति एकआपसमै भिड्दा त्यसको लाभ कांग्रेस र एमालेले उठाएको हो,' झाले लोकान्तरसँग भने, 'त्यसबाहेक मधेश आन्दोलनको रापताप सकिँदै जाँदा मधेशको एजेन्डाप्रति नेतृत्वको स्खलनका कारण पनि जनताले कांग्रेस र एमालेलाई जिताए ।'
राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका प्रा.डा. सुरेन्द्र लाभ पनि मधेशवादी दलहरूले पर्फर्म गर्न नसक्नु, प्रदेश सरकार समेतबाट जनतालाई डेलिभर गर्न नसक्नु, आफ्नो माग र मुद्दाप्रति अडान कायम राख्न नसक्नु पराजयको कारण रहेको बताउँछन् ।
'उहाँहरूको विगतदेखि हालसम्मको कार्यशैली हेरेर जनता निराश भइसकेका थिए,' लाभले लोकान्तरसँग भने, 'आमजनता मधेशवादी दलहरूको रवैया, कार्यशैलीबाट वाक्क-दिक्क भइसकेका थिए। जनताले परिवर्तन खोजेका थिए। त्यसकारण जनताले उनीहरूको विकल्प खोज्दा अहिले पराजय भोग्नु परेको हो ।'
मधेशवादी दलप्रति आक्रोशित जनताले जसपा र लोसपालाई मत दिनुको साटो विकल्पमा जनमतलाई रोजेको कतिपयको बुझाइ छ ।
राजनीतिक विश्लेषक तुलानारायण साह भने विगत पाँच वर्षमा मधेश प्रदेश सरकार र स्थानीय सरकारबाट मधेशकेन्द्रित दलहरूले राम्रो प्रदर्शन गर्न नक्सदा रिएक्ट भएर पनि कांग्रेस र एमालेमा भोट गएको बताउँछन् ।
अर्को राजनीतिक विश्लेषक सीके लाल भने आन्दोलनको रापताप सेलाइसकेपछि जनताले पुरानै मालिकलाई रोजेको बताउँछन्।
'जुन दलबाट आफ्नो आवश्यकता तथा सुविधा प्राप्त हुने हो, त्यस दललाई नै जनताले रोजेका छन्,' लालले लोकान्तरसँग भने, 'मधेश आन्दोलनको मुद्दा सेलाएपछि थलिएका मधेशआश्रित दलका नेताभन्दा पनि पुरानै मालिकलाई रोजेका छन् ।'
पढ्नुहाेस् याे पनि
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । ...
‘राष्ट्रपति (निर्वाचन)का लागि अझै समय बाँकी छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिएहुन्थ्यो भन्नेतिर कोशिश गरेका छौं । हामी त्यो कोशिश जारी राख्छौं ।’ सभामुखमा एमालेका देव...
अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...
दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट&rsquo...
सभामुख तथा उपसभामुखको निर्वाचन सकिएपछि अब सबैको ध्यान राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन संघीय संसद्ले गर्ने भए पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव नि...
प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...