
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो त्रैमासमा ८.५ प्रतिशत रहेको जनाएको छ । आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ असोज मसान्तमा ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको पनि जनाएको छ ।
यस्तै बैंकले आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १२ प्रतिशत हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा यस्तो वृद्धिदर ५.३ प्रतिशत रहेको जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा यस्तो वृद्धिदर ६.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।