०७ साउन २०८३, बिहीबार

मुख्यमन्त्रीका तीन आकांक्षी पराजित, प्रदेशसभामा दोहोरिने १५ जनाको सपना अधुरै !

मंसिर १२, २०७९
मुख्यमन्त्रीका तीन आकांक्षी पराजित, प्रदेशसभामा दोहोरिने १५ जनाको सपना अधुरै !
बायाँबाट क्रमश: राजीव कोइराला, गुरु घिमिरे र जीवन घिमिरे

निर्वाचनमा जनताको घरदैलोमा जाँदा भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै भोट माग्ने प्रदेशसभाका हेभीवेट उम्मेदवारहरू पराजित भएका छन् ।

प्रदेश– १ को प्रदेशसभा सदस्यमा उम्मेदवार भएका हेभीवेट उम्मेदवार नै पराजित भएका हुन् । मुख्य ४ दलका करीब एक दर्जन नेता मुख्यमन्त्रीको दाबी गर्दै चुनावी मैदानमा थिए । तर, केही नेताले चुनाव नै जित्न सकेनन् ।

नेपाली कांग्रेसका नेता राजीव कोइराला सुनसरी २ (२)बाट पराजित भए । उनी अघिल्लो संसदमा कांग्रेसबाट संसदीय दलका नेता बनेका थिए ।

उनको मुख्यमन्त्री हुने सपना रोक्दै यस क्षेत्रबाट एमालेका रामप्रसाद मेहता विजयी भएका छन् । मेहताले १८ हजार २०९ मत प्राप्त गरेका छन् भने कोइरालाले १७ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेबाट मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बनेका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए ।

उनले आफू प्रदेश सांसद हुन मात्र उम्मेदवार नभएको भन्दै प्रचार गरेका थिए । तर, उनलाई विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले दोस्रो बनाए । 

यस्तै मोरङ क्षेत्र नम्बर ४ (१)बाट उम्मेदवार बनेका गुरुराज घिमिरे पनि पराजित भए । बौद्धिक नेताका रूपमा चिनिएका घिमिरेलाई हराउन कांग्रेसभित्रबाटै अन्तर्घात भएको चर्चा छ ।

कांग्रेसभित्रको अन्तर्विरोधका कारण घिमिरे पराजित बनेको कांग्रेस वृत्तमै चर्चा हुन थालेको छ । कांग्रेसका जिल्ला स्तरका एक नेताले भने, ‘उहाँलाई हराउन केही नेताहरू लाग्नुभएको थियो ।’ 

प्रदेशसभामा दोहोरिने १५ जनाको सपना अधुरै

अघिल्लोपटक प्रदेश सांसद रहेका १५ यसपटक पराजित भएका छन् । नेपाली कांग्रेसका नेता राजीव कोइराला सुनसरी २ (२)बाट पराजित भए  । 

एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए ।

निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित भइन् । उनी अघिल्लोपटक माओवादी केन्द्रबाट समानुपातिक सांसद भएकी थिइन् ।

एमाले नेता अमरबाबु गुरुङ पनि यसपटक पराजित भए । उनी ओखलढुंगाबाट पराजित भएका हुन् ।

सोलुखुम्बु १ बाट उम्मेदवार बनेका एमालेका नेता उत्तमकुमार बस्नेत पराजित भए । प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री समेत रहेका उपेन्द्रप्रसाद घिमिरेले पनि चुनाव जित्न सकेनन् ।

अघिल्लो चुनावमा एमालेबाट जितेका उनी यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए । उनी मोरङ १ बाट उम्मेदवार थिए ।

माओवादी नेता कुशल लिम्बू पनि मोरङ १(१)बाट पराजित बने । समानुपातिकबाट सांसद बनेकी माओवादी नेत्री कुसुमकुमारी श्रेष्ठका लागि प्रत्यक्षबाट सांसद बन्ने सपना अधुरो नै रह्यो । उनी धनकुटा १ (२)मा उम्मेदवार थिइन् ।

प्रदेश १ का बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव मोरङ ५ (२)बाट पराजित बने । यस्तै प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरको संसद् यात्रा पनि ५ वर्षका लागि रोकिएको छ । उनी माओवादी केन्द्रका हुन् । 

एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम १(१), माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (२) र एमालेका वसन्तकुमार बानियाँ झापा ३ (१) बाट पराजित भए ।

अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी वसन्तीदेवी यादव यसपटक एमाले छोडेर स्वतन्त्र उठे पनि उनले पनि सफलता प्राप्त गर्न सकिनन् ।

अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एसकी नेत्री सरिता थापा पनि यसपटक संखुवासभा १(२) बाट पराजित भइन् ।

कमेन्ट गर्नुहोस्