३० असार २०८३, मंगलबार

आईजीपीलाई बोलाएर प्रधानमन्त्री देउवाले लिए चुनाव प्रभावित भएका क्षेत्रको ब्रिफिङ

मंसिर १२, २०७९
आईजीपीलाई बोलाएर प्रधानमन्त्री देउवाले लिए चुनाव प्रभावित भएका क्षेत्रको ब्रिफिङ

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्वक निर्वाचन गराउन सफल भएको भन्दै सुरक्षा निकायका प्रमुखलाई बोलाएर धन्यवाद दिएका छन् । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्याललाई बोलाएर धन्यवाद दिएका हुन् । 

निर्वाचनका क्रममा केहीबाहेक अन्य ठाउँमा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको भन्दै धन्यवाद दिएको बालुवाटारले जनाएको छ । देउवाले निर्वाचन प्रभावित र मतगणना रोकिएका बाजुरा, दोलखा, स्याङ्जा लगायतका क्षेत्रको बारेमा सुरक्षाका निकायका प्रमुखसँग ब्रिफिङ समेत लिएको स्रोतले बतायो ।

‘प्रहरी र सशस्त्रका आईजीपीहरुलाई निर्वाचन रोकिएको क्षेत्रको बारेमा जिज्ञासा राख्नु भएको थियो । उहाँले त्यहाँको अवस्थाको बारेमा जानकारी गराउनु भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो । प्रहरीका आईजीपी सिंह र सशस्त्रका आईजीपी अर्यालले निर्वाचनमा समस्या देखिएका क्षेत्र र मत गणना हुँदा हुँदै रोकिएको क्षेत्रको बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले बाजुरामा भएको घटनामा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन समेत निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्