३२ असार २०८३, बिहीबार

विश्वकप फूटबलमा इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

मंसिर १४, २०७९
विश्वकप फूटबलमा इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।
 
समूह ‘बी’को तेस्रो तथा अन्तिम निर्णायक खेलमा मंगलवार राति इंग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

इंग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इंग्ल्यान्डका लागि मार्कुस राषफोर्डले २ गोल गरे भने फिल फोडेनले १ गोल गरे । खेलको ५०औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई शुरूआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्याण्डलाई २–० को अवस्थामा पुर्‍याए । खेलको ६८औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३–० को सहज जीत दिलाए ।

जीतसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्ड ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा छ । वेल्स भने १ अंक जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको अलथुमामा रंगशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जीतमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए । जीतसँगै अमेरिका समूह ‘बी’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अमेरिकाले ३ खेलबाट ५ अंक जोडेको छ । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्