
निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुरामा स्थगित भएको मतगणना शुरू गर्न निर्देशन दिएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना स्याङ्जा–२ मा अझै शुरू भएको थिएन् । बाजुरामा भने केही मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।
निर्वाचन आयाेगले सर्वसम्मतरूपमा दुवै निर्वाचन क्षेत्रमा मतगणना गराउने निर्णय भएकाे र साेही अनुसार मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिग्राम पाैडेलले बताए ।
अध्ययन टोलीको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिने निर्णय भएकाे पाैडेलले बताए ।
त्यहाँ नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप एमालेले लगाएको थियो । केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने एमालेले माग गरेको थियो । पुनः मतदान नभई मत गणना गर्न नहुने एमालेको अडानपछि मतगणना स्थगित भएको थियो ।
मतगणना स्थगित गरेर मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगमा परामर्श मागेका थिए । आयोगले कर्मचारीको टोली खटाएर स्थानीय वस्तुस्थिति अध्ययन गर्न लगाएको थियो । टोलीले अध्ययनपछि बुझाएको प्रतिवेदनको आधारमा निर्वाचन आयोगले स्याङ्जामा पुनः मतदान गर्नुनपर्ने भन्दै गणना शुरू गर्न निर्देशन दिएको पाैडेलले जानकारी दिए ।
बाजुरामा मंसिर ४ मा मतदानको क्रममा भएको झडपमा एक जनाको ज्यान गएको थियो । सोही दिन राती एमालेको अनेरास्ववियु र कांग्रेसका कार्यकर्ताबीचको झगडामा अर्को एकजनाले पनि ज्यान गुमाएका थिए ।