
चालू शैक्षिक शत्रका सात महिना बितिसकेका छन् ।
मुगुको खत्याड गाउँपालिका– ८ सुकाढिकस्थित सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्र कार्कीलाई आफ्ना विद्यार्थीको हातमा पुस्तक पर्ला भन्ने विश्वास छैन ।
‘अर्धवार्षिक परीक्षाको तालिका सार्वजनिक गर्नुपर्नेछ, अहिलेसम्म अधिकांश विद्यार्थीले पूरै सेट किताब पाएका छैनन्,’ किताबबारे गुनासो गर्न बुधबार पालिका मुकाम माथिचौरतर्फ जाँदै गरेका उनले भने, ‘विद्यार्थी भर्ना भएको आठ महिनासम्म किताब नपुग्दा पढाइ प्रभावित भएको छ ।’
प्रधानाध्यापक कार्कीका अनुसार कक्षा ६, ९ र १० का विद्यार्थीले अंगे्रजी, गणित, विज्ञान, सामाजिक, शिक्षा, स्वास्थ्य तथा शारिरीक र अर्थशास्त्रजस्ता विषय पाठ्यपुस्तकविनै पढ्नपुरेको छ ।
मुगुकै सोरु गाउँपालिका– २ स्थित जनज्योति माविका लेखापाल नरजंग शाही पुस्तकविनै विद्यार्थीहरू परीक्षा दिन बाध्य भएको बताउँछन् ।
‘विद्यार्थीलाई पढ्न, होमवर्क गर्न समस्या भएको छ । नयाँ किताब पाउँदा विद्यार्थीहरूमा बेग्लै उत्साह आउथ्यो, ‘उनी भन्छन्, ‘यसले पढाइमा असर पुगेको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीहरूमा निराशा छाएको छ ।’
जनज्योति माविका ३५ विद्यार्थीले पूरा सेट किताब पाएका छैनन् । मुगुका यी दुई विद्यालय उदाहरण मात्र हुन् । कर्णालीका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीले हातमा पूरा सेट किताब पाएका छैनन् ।
पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरेपनि विद्यालयमा भने पुगेको छैन ।
विद्यार्थीले समयमै पुस्तक नपाउने समस्या यो पटक पहिलो होइन, बर्सेनि कर्णालीमा शैक्षिक शत्र सकिने बेला पाठ्यपुस्तक पठाइन्छ । जनक शिक्षाले कर्णालीलाई हेपाहा प्रवृत्तिले हेर्ने गरेका कारण सबै प्रदेशमा पाठ्यपुस्तक पुगिसक्दा यहाँ अभाव रहेको व्यवसायी बताउँछन् ।
विद्यार्थीले हात–हातमा पुस्तक नपाउँदा पढाइको गुणस्तर बर्सेनि खस्कँदै गएको नतिजाले देखाएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा प्रदेशगत रूपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अंक ल्याए । यो सबैभन्दा कमजोर नतिजा हो ।
एसईईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार ३ सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । यस वर्ष पनि पाठ्यपुस्तक अभावका कारण शैक्षिक गुणस्तर सुधारमा असर पर्ने चिन्ता सरोकारवालाहरू व्यक्त गर्दछन् ।
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकेपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा भदौमै ध्यानाकर्षणपत्र बुझाएको थियो ।

विद्यार्थीलाई समयमै पुस्तक दिन नसकेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रादेशिक प्रमुख धनबहादुर केसीमाथि दुव्र्यवहारसमेत गरेका थिए । तर अनेकौं दबाब खेप्दासमेत जनक शिक्षाले कर्णालीमा पाठ्यपुस्तक पठाउन कुनै चासो दिएको छैन ।
कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धित विद्यालयकै जिम्मा र केहीले शिक्षा शाखामार्फत पुस्तक खरिद तथा ढुवानी गर्ने गरेका छन् । मागअनुसार जनक शिक्षाले पर्याप्त पुस्तक दिन नसक्दा ढुवानी पनि प्रभावित हुन पुगेको हो । पूरा सेट पाठ्यपुस्तक पाउनुपर्ने अडान राखेर कतिपय व्यवसायीले ढुवानी ठप्प पारेका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष कमल नेपालले जनक शिक्षाको चरम लापरवाहीका कारण कर्णालीका विद्यार्थीले पुस्तक पाउन नसकेको आरोप लगाए ।
‘हामीले जनक शिक्षालाई धेरैपटक दबाब दियौं, सुनुवाइ भएन,’ उनले भने ।
महासंघका तर्फबाट जनक शिक्षासँग संयोजन गर्दै आएका बाग्मती प्रदेशका व्यवसायी नारायण श्रेष्ठले किताब छाप्न नसक्नु जनक शिक्षाको गैरजिम्मेवारीपन भएको बताए ।
‘अर्को शैक्षिक शत्र आउने बेला भइसक्यो विद्यार्थीले किताब पाउन सकेका छैनन्,’ उनी भन्छन्, ‘कर्णालीमा त झन् पर्याप्त पुस्तक पठाइएको छैन ।’
म्शिन र जनशक्ति पर्याप्त हुँदा पनि सरकारी पाठ्यपुस्तक छाप्न नसक्नुको पछाडि कागज आपूर्तिमा लगाइएको सिन्डिकेट र कमिसन नै मुख्य कारण भएको उनको आरोप छ ।
‘कागज किनेर छाप्न नसक्ने भन्ने हुन्न, पुरानो टेन्डर सम्झौताको समय समाप्त भइसक्दा समेत नयाँ टेन्डर खोलिएको छैन,’ व्यवसायी श्रेष्ठ भन्छन्, ‘निर्वाचन आयोगले कागज किनेर छाप्न दिँदा एक महिनामै आठ करोड मतपत्र छाप्न सक्ने जनक शिक्षाले पुस्तक छाप्न नसक्ने भन्ने हुँदैन । सामुदायिक शिक्षाप्रति गरिएको खेलबाड हो यो ।’
अझै १३ हजार पुस्तक अपुग
कर्णालीमा झण्डै १३ हजार पुस्तकको अभाव देखिएको छ । यहाँ कक्षा ६, ८ र ९ र १० का विद्यार्थीले पर्याप्त पुस्तक पाउन सकेका छैनन् ।
अंगे्रजी, विज्ञान, गणित सामाजिक, पेशा तथा व्यवसाय, अर्थशास्त्र र स्वास्थ्य तथा शारिरीक विषयको पुस्तक पनि कमी छ ।
जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख धनबहादुर केसीले कर्णालीमा नेपालगञ्ज र सुर्खेतस्थित गोदामबाट पुस्तक ढुवानीको व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार जनक शिक्षाको प्रादेशिक कार्यालयबाट कक्षा ५ को १० हजार सेट, ६ को २६ हजार सेट, कक्षा ७ को ३० हजार सेट, ८ को २४ हजार सेट, ९ को २६ हजार सेट र १० कक्षाको २६ हजार सेट पुस्तक कर्णालीका विभिन्न स्थानीय तहमा पठाइएको छ ।
कर्णालीका हिमाली जिल्ला मात्र होइन, सुर्खेत र आसपासका जिल्लाका विद्यार्थीले पनि पर्याप्त पुस्तक नपाएको गुनासो सुनिने गरेको छ । प्रादेशिक कार्यालयका प्रमुख केसीले हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पहिले ढुवानी गर्न निर्देशन दिएकाले तल्लो भेगमा केही समस्या देखिएको दाबी गरे ।
सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्म निजी प्रकाशन र कक्षा ४ देखि १२ सम्म जनक शिक्षाले पुस्तक छपाइदेखि बिक्री वितरण गर्दै आएको छ ।
कक्षा ११ र १२ को पनि पढाइ शुरू भइसक्यो । प्रादेशिक प्रमुख केसीले कक्षा ११ र १२ का केही सीमित पुस्तकहरू मात्र नेपालगञ्जसम्म आइपुगेको बताउँछन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले कागज ढुवानीका लागि सम्झौता भइसकेको जनाएको छ ।
जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्य भन्छन्, ‘सप्लायर्स कम्पनीले सम्झौता अनुसार कागज ढुवानी गर्न सकेको छैन । ढुवानीकर्ताले सम्झौता पालना नगर्दा पाठ्यपुस्तक छपाइ प्रभावित हुन पुगेको हो ।’