चितवन, २९ साउन- माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’
उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे । एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्याएका थिए, अन्नपुर्ण पोस्टमा खबर छापिएको छ ।