२९ जेठ २०८३, शुक्रबार

जीवन विज्ञानमा फोटोग्राफी तालिम र तीजको रमझम

कात्तिक २०, २०७४
जीवन विज्ञानमा फोटोग्राफी तालिम र तीजको रमझम

काठमाडौं, २९ साउन - जीवन योग प्रयोगशाला कोटेश्वर केन्द्रमा शनिबार दिनभर फोटोग्राफीसम्बन्धी तालिम दिइयो भने भक्तपुरको राधे–राधेस्थित संगम कोलोनीको ध्यानहलमा तीज महोत्सव आयोजना गरियो ।

कोटेश्वरको जीवन योग प्रयोगशालामा प्रशिक्षक दुर्गा मगरले भने ‘जीवन विज्ञानको उद्यमशीलता कार्यक्रमकै एउटा पाटोका रुपमा फोटोग्राफी तालिम दिइएको हो ।’

प्रशिक्षक वीरबहादुर कार्कीले दिएको फोटोग्राफी तालिममा ३० जना सहभागी थिए । कार्कीले निकै मिहिनेतका साथ तालिम दिएको सहभागीहरुको अनुभव थियो । तालिमका सहभागीहरुले राम्ररी प्रशिक्षण पाएकाले फोटो कसरी उपयुक्त ढङ्गले खिच्ने भन्ने ज्ञान हासिल गरेको बताएका थिए ।

साथै, उनीहरुले यस खालका कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गरे । तालिममा सहभागीमध्ये अधिकांशले जीव विज्ञान, भौतिक विज्ञान जस्ता विज्ञानको नाम सुनेको भए पनि ‘जीवन विज्ञान’को नाम नै अहिलेसम्म सुन्दै नसुनेको भन्दै ‘जीवन विज्ञान के हो’ भन्ने जिज्ञासा राखेका थिए ।

उनीहरुको जिज्ञासा प्रशिक्षक दुर्गा मगरले सटीक ढंगले समाधान गरिदिएका थिए । साथै, मगरले ध्यानको विधिसमेत प्रयोग गरेर तालिमका सहभागीलाई खुसी र आनन्दित तुल्याएका थिए ।

उता, शनिबार नै भक्तपुरको राधे–राधेस्थित संगम कोलोनीको ध्यान केन्द्रमा तीज महोत्सव आयोजना गरियो । महोत्सवमा साहित्य, संगीत र कलाका माध्यमद्वारा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रममा शान्ति ढकालले हालको समयसम्म आउँदा महिलाहरुमा शिक्षाको चेतना बढिसकेको बताएकी थिइन् । आमा शिक्षित भए परिवारका सबै सदस्य शिक्षित हुने भन्दै उनले महिला शिक्षित हुनुपर्नेमा बढी जोड दिएकी थिइन् । यसैगरी, होमनाथ पौडेलले परापूर्वकालदेखि चल्दै आएको तीज ‘नारी स्वतन्त्रताको दिन’ भएको बताएका थिए । साथै, उनले तीज नारीहरुको मात्र नभई पुरुषहरुको पनि चाड भएको दाबी गरे ।

शकुन्तला बस्नेतले जीवन विज्ञानबाट आफ्नो जीवन नै रुपान्तरण भएको मार्मिक अनुभूतिका साथै ध्यानबाट प्रेम र प्रेमबाट सेवाभाव पाइने अनुभव सुनाएकी थिइन् ।

सुनिल अधिकारीले प्रशिक्षक सरिता शर्मा ‘जीवन विज्ञानका लागि आफ्नो पथप्रदर्शक’ भएको भन्दै जीवन विज्ञान आउन ढिलाइ गरेकोमा पछुतो लागेको बताएका थिए । साधनाबाट छिट्टै जीवनमा रुपान्तरण अनुभव गरेका अधिकारीले संगम कोलोनीमा केही महिनायता ध्यान–योग प्रशिक्षण दिन थालेको र सबैलाई केन्द्रमा प्रातः सहभागी हुन आह्वान गरेका थिए । त्यस्तै, ममता सुवेदीले ‘जीवन विज्ञान’ र ‘तीज’ शीर्षकका कविता सुनाएकी थिइन् ।

जीवन विज्ञान प्रतिष्ठानलाई नै सफलताको उचाइमा पुर्‍याउन विशिष्ट भूमिका निर्वाह गरेकी प्रशिक्षक सरिता शर्माले सञ्चालन गरेको कार्यक्रममा मोहन प्रधानले गीत र समीर श्रेष्ठले गजल सुनाएका थिए । नन्दिका प्रधानले साधनाबाट अन्तर्यमा सकारात्मक अनुभव आउन थालेको अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा विभिन्न गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो, जसमा शिवानी ढकाल, शकुन्तला बस्नेत, युरिका कट्टेल, सुष्मिता खड्कालगायत उपस्थित प्रायः सबैले नृत्यबाट मनोरञ्जन र खुसी साटासाट गरेका थिए ।
साथै, कार्यक्रमकी अतिथि शकुन्तला बस्नेतलाई ‘मायोका चिनो’समेत प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्