२९ जेठ २०८३, शुक्रबार

सुकुम्बासीहरूको चेतावनीः वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य हुँदैन

मंसिर १९, २०७९
सुकुम्बासीहरूको चेतावनीः वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य हुँदैन
फाइल तस्वीर

बागमती नदी किनारका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरूले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्नेलगायतका माग राखेर विरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा विरोध कार्यक्रम आयोजना गरिएको हो । आफूहरूको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए ।

र्‍यालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए । उनले वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकारमाथिको हनन् भएको बताए । उनले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए । 

कार्कीले जोखिममुक्त बसोवास गरेका सुकुम्बासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरूलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे । उनले सरकारले सुकुम्बासीहरूसँग वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । 

‘वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास हामीलाई सह्य छैन । यो नागरिकमाथिको हनन् हो । नागरिक अधिकारमाथिको हनन् हो । संविधान माथिको हनन् हो । सुकुम्बासीहरू बिध्वंसकारी होइनन् । देश विकास र निर्माणका शक्ति हौँ । जोखिममुक्त बसोवास गरेका सुकुम्बासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरूलाई अन्य सुरक्षित ठाउँमा त्यही वडाभित्र स्थानान्तरण गरेर भू स्वामित्व दिनुपर्छ । वार्ताको ढोका, सहमतिको ढोका खोल्नुहोस्, हामी वार्ताबाट समस्या समाधान गर्न चाहन्छौँ’, कार्कीले भने । 

सुकुम्बासीहरूले र्‍यालीका क्रममा ‘बिना विकल्प उठिवास बन्द गर, वार्ता र संवादको ढोका खुला गर, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता गर, उठिवासको त्रास बन्द गर, नागरिकको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएका थिए । गत मंसिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरूको आरोप छ । उनीहरूले भत्काउनु र बिगार्नु विकास नभई दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव समेत दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्