पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्ट ७४ रनले जितेको छ ।
रावलपिण्डीमा सोमवार सकिएको टेस्टमा इंग्ल्यान्ड विजयी भएको हो ।
यस खेलमा इंग्ल्यान्डले अनेकौं कीर्तिमान कायम गरेको छ । टेस्टको पहिलो दिन ५०० भन्दा रन बनाउने अनि चारजना ब्याट्स्म्यानले पहिलो दिनमै शतक बनाउने कीर्तिमान इंग्ल्यान्डले कायम गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ६५७ रनको विशाल स्कोर खडा गरेको थियो । उसका लागि ह्यारी ब्रूकले १५३, ज्याक क्रलीले १२२, ओली पोपले १०८ र बेन डकेटले १०७ रन बनाएका थिए ।
जवाफमा पाकिस्तानले पनि सुदृढ प्रदर्शन गर्दै ५७९ रन बनायो । उसका तीनजना ब्याट्स्म्यानले शतक बनाए । कप्तान बाबर आजमले १३६, इमाम उल हकले १२२ र अब्लुल्लाह शफिकले ११४ रनको योगदान गरे । इंग्ल्यान्डका विल ज्याक्सले १६१ रन खर्च गरी ६ विकेट हात पारे ।
ब्याट्स्म्यानहरूको स्वर्ग भन्न सकिने पिचमा कुनै रिजल्ट नआई टेस्ट बराबरीमा टुंगिने खतरा थियो । तर इंग्ल्यान्डले दोस्रो इनिङमा बहादुरीपूर्वक सात विकेटको क्षतिमा २६४ रन बनाएर इनिङ डिक्लेयर गर्यो । बराबरीको नतिजा कुनै हालतमा ननिकाल्ने, जीतका लागि नै प्रयास गर्ने इंग्ल्यान्डको रणनीति हो ।
पाकिस्तानलाई ३४३ रनको लक्ष्य दिएको इंग्ल्यान्डले कसीकसाउ बलिङ गर्दै हराएको हो । पाकिस्तानले जम्मा २६८ रन बनाउन सक्यो । ओली रोबिन्सन र जेम्स एन्डरसनले चार–चार विकेट लिए ।
शृंखलाको दोस्रो टेस्ट मुल्तानमा शुक्रवारबाट शुरू हुनेछ ।