
काठमाडौं, २९ साउन — हाम्रो समाजमा चलेका केही रीतिरिवाजले अचम्ममा पार्छन् । यिनको कुनै तार्किक प्रमाण पाइँदैन ।

पकाएको भाँडोमा खानु हुँदैन भन्ने पनि यस्तै एक मान्यता हो । यसो गर्दा पाप लाग्छ भनिन्छ । अहिले पनि पकाएको भाँडोमा खाने वा डाडु चाट्ने व्यक्तिको बिहेको दिन पानी पर्छ भनिन्छ ।
यसो विचार गर्दा यो सरसफाइको कुरा हो । प्राचीनकालमा प्रायः खाना बनाउने मानिसहरू सबभन्दा अन्तिममा खान्थे । महिलाहरू पनि सबैलाई खुवाएपछि अन्तिममा बचेको खानेकुरा लिन्थे ।
यस्तोमा उनीहरू थाकेका हुन्थे र हतारहतारमा पकाउने कराहीमै सबैथोक हालेर खाइदिन्थे । कराही फलामको हुन्थ्यो र त्यसलाई पूरै सफा गर्न पनि सजिलो थिएन । त्यतिखेर अहिलेको जस्तो डिश वाशिङ पाउडर पनि उपलब्ध थिएन ।
सामान्यतया पराल र खरानीले भाँडा मस्काइने गरिन्थ्यो । कतैकतै कोइलाको पनि प्रयोग हुन्थ्यो । तर फलामको जुठो कराही बाहिरबाट सफा देखिएपनि भित्र स्वच्छ हुन पाउँदैनथियो । त्यसैले पनि कराहीमा खान निषेध गरिएको हुन सक्छ ।
कुनै पनि निषेधलाई लागू गर्नका लागि कानून, मान्यता, धार्मिक संस्कार र भय जोडिएको हुन्छ । यति नगर्दा त्यसलाई पालन गराउन धेरै गाह्रो पर्छ । त्यसैले स्वास्थ्य सम्बन्धी नियम लागू गराउनका लागि धार्मिक मान्यताको सहारा लिइएको हुनसक्छ ।