२९ असार २०८३, सोमबार

मन्त्रालय आफै हिंसामा छ : महिला मन्त्री रेग्मी

मंसिर २२, २०७९
मन्त्रालय आफै हिंसामा छ : महिला मन्त्री रेग्मी

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाले आफूहरु हिंसामा रहेको गुनासो गरेका थिए । 

सिराहामा स्थानीय जानकीदेवी र चन्द्रमायाले भोगेको हिंसा र विभेदजस्तै मन्त्रालय पनि हिंसामा परेको मन्त्री रेग्मीले चर्चा गरिन् । उनले भनिन्, “९५ प्रतिशतभन्दा बढी घरमा महिलामाथि हिंसा छ, मन्त्रालय आफैँ हिंसामा छ। सङ्घीयता आएपछि जिल्लास्थित महिला विकास कार्यालय पनि विघटन भएन।” 

आफ्नो मन्त्रालय करिब ८० प्रतिशत जनसङ्ख्याको अभिभावक भएको तर बजेट अन्य मन्त्रालयको भन्दा कम भएको गुनासो पनि उनले गरिन् । महिलालाई हेर्ने राज्यको नजरिया अझै परिवर्तन हुन नसकेको उनले बताइन् ।  ललित महिला केन्द्र नेपालद्वारा लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मन्त्री रेग्मी त्यहाँ पुगेकी थिइन । 

स्थानीय जानकीदेवीले श्रीमान् र सासूले छोरा चाहियो भनेर कुटपिट गरेको मन्त्रीलाई सुनाएकी थिइन् । खान दिँदैनन्, कुटपिट गर्छन्, मैले कहीँकतै उजुरी पनि गरेको छैन, उजुरी गर्दा मार्छन् कि भन्ने डर लाग्छ उनले पीडा सुनाइन् । छोरा चाहियो भनेर कुटपिट गर्छन् कहाँबाट छोरा ल्याउने ? उनले भनिन् । 

श्रीमान् देवनारायणले कान्छी श्रीमतीसँग बसे पनि कहिलेकाहीँ घरमा आएर गाली गर्ने, घर छोड भनेर धम्की दिनेगरेको उनले गुनासो सुनाइन् । मलाई अहिले पनि डर छ, घरमा बस्न दिन्नन्, घर छोड भन्छन्। अब म कहाँ जाउँ ? उनले मन्त्री रेग्मीसामु दुःख विसाइन् । 

कार्यक्रममा सहभागी गोलबजारकी चन्द्रमाया विश्वकर्माले पनि परिवारमाथि भएको जातीय भेदभावको घटनाको स्मरण गर्दै दलित भएर जन्मिएकोमा पीडा भएको बताइन् । घर नजिकैको सार्वजनिक इनार छुँदा जेठानी दिदीलाई स्थानीय गैरदलितले कुटपिट गरेर हात भाँचिदिएको उनले भनिन् । 

कमेन्ट गर्नुहोस्