वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले काठमाडौंमा अत्यधिक धुँवा निकालेर चल्ने सवारी साधनको चेकजाँच गर्नेभएको छ । धुँवा निस्कने सवारी साधनका कारण काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेको भन्दै विभागले चेकजाँच गर्ने जनाएको हो ।
विभागले आज सूचना प्रकाशित गरी त्यस्ता पुराना सवारी साधनको परीक्षण सघनताका साथ गर्ने जनाएको छ । तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको विभागले भनेको छ ।
आगामी पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदुषण जाँचपास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ (२) बमोजिम एक लाख रुपियाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।
जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने भन्दै विभागले जारी सूचनामा भनेको छ, “जाँचपासका रुपमा यसअघि जारी गरिएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुत्तीर्ण हुने सवारीलाई समेत उल्लिखत व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने व्यहोरा अनुरोध छ ।”