
निर्माण शुरू भएर ७ वर्षदेखि काम रोकिएको तनहुँका २ पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ ।
शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो ।
संघीय सरकारको लगानीमा निर्माण शुरू भएको पुलको म्याद ३ पटक थपिएको छ । पछिल्लोपटक थपिएको म्याद गत वर्षको भदौ ९ गते सकिँदा हालसम्म ३ वटा पिल्लरको मात्रै काम सम्पन्न भएको छ ।
नदी किनारमा २ र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ ।
गत वर्षको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकिएको थियो ।
निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेको छ । निर्माण व्यवसायी योगेन्द्र कँडेलले ढाँचा परिवर्तनका कारण काम ढिलाइ भएको बताए । ‘पहिला ओपन फाउन्डेसन थियो, डिजाइन परिवर्तनका लागि ३ वर्ष लाग्यो,’ उनले भने, ‘कोभिडका कारण पनि काम ढिलो भयो ।’
उनका अनुसार आगामी असार मसान्तसम्म म्याद थप भएकाले त्यो अवधिसम्म काम सम्पन्न हुनेछ । ‘वर्षाका बेला काम गर्न सकिँदैन, हिउँदमा मात्रै काम हुन्छ,’ उनले भने, ‘सडक विभागसँगको समन्वयमा काम गर्छौं ।’
स्थानीय शिवकुमार आलेले निर्माण व्यवसायीले असारभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले खुशी लागेको बताए ।