
जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुंग्याएको छ ।
वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ ।
अब रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ । जनकपुर उद्योग वाणिज्य संघ लगायतले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गर्दै आएका थिए ।
उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए । उनले भने, ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको ८ धुर जग्गा कित्ताकाट हुने यथावत छ ।’ उनले कृषि क्षेत्रको जग्गा २ कट्ठाभन्दा कम्तीको कित्ताकाट नहुने बताए ।
वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको उनले बताए । ‘जग्गाधनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिकामा निवेदन दिन सक्छन्,’ मेयर साहले भने ।
जग्गाको वर्गीकरण भए पनि करमा कुनै प्रकारको वृद्धि नगरिएको उनले बताए । जग्गा वर्गीकरण गरिएको निर्णय शुक्रवार नापी र मालपोत कार्यालय लगायतका निकायमा पठाइएको प्रमुख साहले जानकारी दिए ।
जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो, जसले गर्दा जग्गाको बेचबिखन समेत रोकिएको थियो । उपमहानगरपालिकाले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा तीव्रता आउने बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैनन् ।