१८ असार २०८३, बिहीबार

करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा

मंसिर २४, २०७९
करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा
मेलम्चीकाे बाढीले तहसनहस बनाएकाे बजार क्षेत्र [फाइल तस्वीर]

मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए । 

करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । विसं २०७२ को भूकम्पपछि लय समातेको होटल व्यवसाय २०७८ असार १ पछिको बाढीले तहसनहस बनायो । हेलम्बुका खोला किनारामा रहेका अधिकांश होटल तथा रिसोर्ट बालुवामा बिलाए । मेलम्ची क्षेत्रमा रहेका केही बगे भने पुरिएका केही होटल जसोतसो सञ्चालकले आफैँ बचाएर सफा गरी अहिले सञ्चालन गरिरहेका छन् । 

आन्तरिक तथा बाह्य पर्यटकको राम्रै चहलपहल हुने मेलम्ची, हेलम्बु र पाँचपोखरीका होटल फेरि सुनसानजस्तै देखिन थालेका छन् । पर्यटकीयस्थल हेलम्बु, मेलम्चीको मुहान, पाल्चोक मन्दिर, पाँचपोखरी, इन्द्रावती तथा मेलम्ची घुम्न आउने पर्यटकको संख्या अहिले कम भएको स्थानीय होटल व्यवसायी रत्न श्रेष्ठले बताए । 

मेलम्चीमा बाढीपछि माछा पाउन थाले पनि बाढी अघिजस्तो ग्राहक नआएको उनी बताउँछन् । मेलम्चीका माछा खान बाढी अघि विभिन्न जिल्लाबाट मान्छे आउने गर्दथे । मेलम्चीका स्थानीय माछा, हेलम्बु पाँचपोखरी तथा मेलम्चीको चिसो पानीमा पालिएका ट्राउट माछा खान सार्वजनिक बिदा तथा अन्य समयमा विभिन्न जिल्ला तथा बाहिरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गर्दथ्यो । क्षेत्र नं २ को मुख्य बजार रहेको मेलम्चीमा विभिन्न समयमा कार्यक्रम पनि हुने गर्दथे । पछिल्लो समय वर्षा आएमा बाढीको त्रासले ग्राहक बास बस्न डराउने गरेका छन् । बाढीपछि चुनावमा केही चहलपहल भए पनि फेरि यहाँका बजारमा चहलपहल निकै कम भएको छ । 

विभिन्न सुविधासहितका तीन र अन्य सानाठूला गरी मेलम्चीमा एक दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन् । होटल मेलम्ची हेरिटेजका सञ्चालक सागरकुमार श्रेष्ठले विपद्को केही समयअघि सञ्चालनमा आएको होटल बाढीले क्षति गर्दा स्थानीय, प्रदेश तथा केन्द्र सरकारको साथ नपाएको बताए । उनले अझै पनि मेलम्चीलाई पुरानै अवस्थामा ल्याउन सकिने जनाउँदै यसमा सरकार जिम्मेवार हुनुपर्ने बताए । मेलम्चीवासीले आफ्नै प्रयासमा सहयोग जुटाएर संरचना जोगाएको उनले स्मरण गरे । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सरकारले मात्र नदी नियन्त्रण गर्न नसक्ने भएकाले प्रदेश तथा केन्द्र सरकारको सहयोगमा बाढी प्रभावित क्षेत्रमा कार्य भइरहेको बताए । उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले व्यवसायीलाई सरकारले ब्याज छुट तथा अन्य सुविधा दिएर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित व्यवसायी अत्यन्तै मारमा रहेको जनाउँदै केन्द्र तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । रासस 

salt training

कमेन्ट गर्नुहोस्