रुस र युक्रेनबीच दोनेत्स्क क्षेत्रमा रहेको बाखमुत शहरमा भीषण द्वन्द्व हुँदा उक्त शहर पूर्णतया ध्वस्त भएको छ ।
रुसले लगातार हवाई आक्रमण गर्दा युक्रेनी सैनिक सहित सर्वसाधारण पनि मारिएको बताइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले जानकारी दिएअनुसार, रुसले अबेर राति पनि इरानमा बनेको कामिकाजे ड्रोनमार्फत युक्रेनमा आक्रमण गरिरहेको छ । ओडेसा, खार्किभ, सुमी, जापोरिजा र खर्सनमा पनि रुसी आक्रमण जारी छ ।
युक्रेनी सेनाले रुसी आक्र्रमणको विवरण प्रस्तुत गर्दै शुक्रवार र शनिवार दुई दिन लगातार रुसले २० वटा हवाई आक्रमण गरेको अनि ६० वटा रकेट हानेको बताएको छ । घटनामा दुईजना सर्वसाधारण मारिएको र आठजना गम्भीर घाइते भएको जानकारी पनि उसले दियो ।
नोभेम्बर महिनामा युक्रेनले रुसको नियन्त्रणबाट खर्सन शहरलाई मुक्त गरिएको घोषणा गरेको थियो । तर अहिले युद्धको परिस्थिति बदलिएको छ । रुस कुनै हालतमा पछि हट्न मानिरहेको छैन ।
विगत केही दिनयता रुसले खर्सनमा हवाई आक्रमण बढाएको छ ।
रुसी सेनासँग मिलेर काम गर्ने गद्दारहरूलाई समातेर युक्रेनले कारवाही गरिरहेको बताइएको छ । त्यस्ता गद्दारहरूलाई सडकछेउको ल्याम्पपोस्टमा टेपले बाँधेर उनीहरूको पाइन्ट खोलिएको भिडियोहरू सार्वजनिक भएका छन् ।
अहिले पनि रुसीहरूलाई सूचना दिइरहेका मानिसलाई आफूहरूले खोजिरहेको युक्रेनी अधिकारीहरू बताउँछन् ।