
काठमाडौंको बसपार्क क्षेत्रबाट रकम असुलेको आरोपमा प्रहरीले ८ जना नक्कली कर्मचारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी हौँ भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल तथा पसलबाट रकम असुलेको आरोपमा मंसिर २३ गते साँझ पक्राउ परेका उनीहरूलाई प्रहरीले आज (आइतवार) सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर विक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागरजंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् । उनीहरूले सरकारी कर्मचारीको जस्तै पोशाक र परिचय पत्रसमेत लगाएर बसपार्क क्षेत्रमा आएका थिए ।
पक्राउ परेका राजीव विष्ट र डेविड धामीको डेराबाट आन्तरिक राजस्व कार्यालयको नक्कली छाप, लेटरप्याड, रसिद र परिचयपत्र पनि भेटिएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले लोकान्तरलाई जानकारी दिए ।
एसएसपी बोहराका अनुसार उनीहरूले बसपार्क क्षेत्रबाट मात्रै ५ लाख रुपैयाँभन्दा बढी रकम असुलेको पाइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली कर्मचारी बनेर होटल तथा पसल सञ्चालकहरूलाई धम्क्याई रकम असुलेका थिए । होटल सञ्चालकहरूलाई शंका लागेर प्रहरीलाई खबर गरेपछि उनीहरू नक्कली कर्मचारी भएको खुलेको प्रहरीको भनाइ छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।