२४ जेठ २०८३, आइतबार

वत्सलेश्वरी डबलीमा महानगरको सांस्कृतिक प्रस्तुति

मंसिर २६, २०७९
वत्सलेश्वरी डबलीमा महानगरको सांस्कृतिक प्रस्तुति
फाइल तस्बिर

काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । महानगरपालिका –८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पशुपति क्षेत्रमा प्राचीनकालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक पनि देखाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर पालिकाका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक सहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ–आफ्नै महत्व रहेको उनले बताइन् । हरेक जात्रा पर्व तथा त्यसलाई प्रस्तुत गर्ने डवलीको संरक्षण सम्बधनमा काम गरिने प्रतिबद्धता उपप्रमुख डङ्गोलले व्यक्त गरिन् । 

महानगरपालिका –८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताए । महानगरपालिका मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उनको भनाइ छ । 

कार्यक्रममा प्रदेशसभा र महानगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो । सो अवसरमा देवखलका प्रमुखलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ । यस अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्