
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले हाल जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालगायतको मुद्दा फिर्ता लिनेगरी अध्यादेश ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार रेशम चौधरी र उनका पार्टीका नेता कार्यकर्ताका मागको सम्बोधन गर्दै मुद्दा फिर्ता लिने प्रयोजनका लागि अध्यादेश ल्याइएको हो । यस्तै तत्कालीन केपी ओली नेतृत्वको सरकारले मूलधारको राजनीतिमा ल्याएपनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको समेत मुद्दा फिर्ता हुन नसकेको छैन ।
यी दुबै पार्टीका मागलाई सम्बोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय भएको बताउँदै उनले अध्यादेशमा उल्लेख हुने भाषा मिलाएर राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको ती मन्त्रीको भनाइ छ ।
००००
निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।
००००
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि सोमवार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले जानकारी दिए । उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने जानकारी दिए ।
००००
यसैबीच समानुपातिकतर्फको सांसद छान्दा राजनीतिक दलहरूले आफैंले तय गरेको प्राथमिकता क्रम मिचेका छन् ।
दलहरूले असोज १ र २ गते समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए । दलहरूले समानुपातिक उम्मेदवारको सूची निर्धारण गरेको ३ महिना पनि नपुग्दै आफैंले बनाएको सूचीमा मनलाग्दी हेरफेर गरेका हुन् ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आइतवारदेखि पुनः सञ्चालन गरिएको हो ।
मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आइतबारको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।
००००
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नवौं राष्ट्रिय खेलकुद २०७९मा पदक विजेता खेलाडी तथा अफिसियलहरूलाई सम्मान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरू तथा अफिसियलहरूलाई सम्मान तथा नगद पुरस्कार वितरण गरेका हुन् ।
००००
नेकपा एमालेले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकतर्फबाट सांसद बनाउने निर्णय गरेपछि एमाले नेता भीम रावलले प्रश्न उठाएका छन् । आइतवार ट्वीट गर्दै रावलले भनेका छन्, ‘जापान सरकारको समेत छानबिनमा परेको होली वाइनको झोली भर्ने तरिका ।’
ढकालले अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरियामा जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेको रावलले उल्लेख गरेका छन् । युनिफिकेशन चर्चसँग जोडेर पनि ढकालको चर्चा हुने गरेको छ ।
००००
विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले भारतीय नागरिक पवनकुमार र रुद्र पोखरेललाई नियन्त्रणमा लिएको हो ।
विश्वकप फुटबलको सट्टेबाजी खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले ‘डायमण्ड एप’मार्फत सट्टेबाजी खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
००००
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निलम्बनको फुकुवासम्बन्धी पत्रबारे संघीय संसद् सचिवालयले आइतवार सर्वोच्च अदालतलाई जवाफ पठाएको छ ।
संसद्का महासचिव डा भरतराज गौतमले आइतवार सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । संसद् सचिवालयका एक अधिकारीले आइतवार नै जवाफ पठाइएको जानकारी दिए । जवाफको व्यहोरा भने खुलाइएको छैन ।
००००
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आइतवार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ ।