कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्नेगरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुनेगरेको छ । दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित भएको हो ।
नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दैगरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेको जनाइएको छ । पानी २४ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् ।
नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुनेगरेका छन् । “खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ” स्थानीय माहन्त साउँदले भने, “पाइप काटिँदा अनियमित र फोहर पानी आउनेगरेको छ ।”
पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुनेगरेको खानेपानी संस्थाले जनाएको छ । “दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा पानी अवरुद्ध हुन्छ” खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, “पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुनेगरेको छ ।”
पाइप नकाटियोस् भन्नेबारेमा आफूहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए । कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । “पाइप काटिएको रकमबापत रु १४ लाख क्षतिपूर्ति असुल्न बाँकी रहेको छ” उनले भने ।
अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ । आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ ।
खानेपानी विभागले अटोमेटिक भल्ब सिस्टमका लागि उपकरण अनुदान दिने भएको छ । उपकरण खरिदका लागि बोलपत्र आह्वानसमेत भइसकेको छ । टीकापुरका चारवटै ट्याङ्कीमा फिल्टर जडान गरिएको छ । फिल्टरले छानेर पानी वितरण गर्दा पनि कतिपय अवस्थामा उपभोक्ताले लेदो पानी आयो भनेर गुनासो गर्नेगरेका छन् । पाइप काटिनबाट जोगाउनलाई खानेपानी संस्थाले प्रत्येक ब्लकमै उपसमिति गठन गरेर चेतना जगाउने काम गर्न थालेको छ । रु ५३ करोड लागतमा निर्माण भएको खानेपानी योजनालाई स्तरोन्नतिका लागि भनेर थप रु तीन करोड बजेट उपलब्ध गराइएको थियो । रासस