
जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिनेभएको छ । लामो समयदेखि मर्मतका अभावमा जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ ।
सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखिएको छ । यो पुलले कुश्मा नगरपालिकाका छ वटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार सवै पक्षको छलफलबाट पुल मर्मतका लागि मङ्सिर २८ गतेदेखि पुस १९ गतेसम्म सडक बन्द गरिने भएको छ । उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने सो कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट पुल निर्माण थालिने छ । विसं २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । पुलमा बिछ्याइएका फलामे पाताको बढीमा पाँच वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताए ।
पुल मर्मतसँगै सोही स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययनसमेत भएको छ । सडक विभागले लामो दबाबपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको छ । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्नेगरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले अघिल्लो सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए । रासस