
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले यस पटकको निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको जानकारी दिए । उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको बताए ।
उपसचिव भट्टराईले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिएका छन् । त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उनले उल्लेख गरे । उनका अनुसार प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए ।
उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ ।
‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षा भन्दा कम मतदान भएको हामीले पायौँ । समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो । सबैभन्दा बढी मधेश प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भयो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधि सभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो’, उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो । हामीले कुल खसेको मतलाई सदर र बदर भनेर पनि हामीले तथ्यांक निकालेका छौँ ।’
आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको छ ।
उनले समग्रमा ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए । सबैभन्दा बढी मधेश प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको उपसचिव भट्टराईले बताए ।