
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा मंसीर २४ गते फुकोट जलविद्युत् आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलवार फेला पारेको हो ।
बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरीको शव सोमवार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षीय जेसीबीका चालक मंगल चुडारीको शव मंगलवार फेला परेकोे हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे थियो । उनीहरूसँगै दुर्घटनामा परी हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यही मंसिर २४ गते सो आयोजनाको सुरुङभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं. ३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । उक्त जेसीबीमा रहेका ८ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते र ३ जना बेपत्ता भएका थिए ।