२९ असार २०८३, सोमबार

दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए। 

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । “दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो”, उनले भने, “विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान सङ्कलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।”

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।

बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान सङ्कलन गर्ने गरिन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्