०६ साउन २०८३, बुधबार

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार, स्थानीय उत्साहित

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार, स्थानीय उत्साहित

गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा शुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले पाँच शैय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । 

“अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उनले भने, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा शुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा अस्पताल वा आँपपिपल अस्पताल पठाउनु पर्दैन, सिधै चितवन वा काठमाडौँ सिफारिस गर्ने गरिएको छ ।”

गाउँमैै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उनले जानकारी दिए । “दैनिक पाँच सयसम्म बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्”, अध्यक्ष देवकोटाले भने, “हाम्रो गाउँपालिकाबाहेक छिमेकी सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउन थालेका छन् ।”

अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले स्वास्थ्यको बजेटमा प्राथामिकता राखेर आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याएको बताए । अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उनले जानकारी दिए । 

नपुग कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उनले बताए । “चालु आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ”, अध्यक्ष देवकोटाले भने, “स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परेमा थप रकमको व्यवस्था गर्न सकिन्छ ।”

बिहान–बेलुकी बिरामी भएर पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहेको उनले बताए । “हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ५ बजे बन्द हुन्छ” अध्यक्ष देवकोटाले भने । गाउँमै स्वास्थ्यसेवा पाएपछि स्थानीयहरु उत्साहित भएको पनि उनले दावी गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्