
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उनको भनाइ थियो ।
संवाद डबलीले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यो व्यवस्था र प्रणाली रहुन्जेल राजनीतिक दलहरुको नेतृत्वले नै मुलुकको नेतृत्व गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहीँकतै पनि कुरा नउठेको जानकारी दिए । गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएको भन्दै उनले उत्त प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताए ।
‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ । अब सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन । किनभने अहिलेसम्मको विकासको यात्राले के चाहिँ आत्मासातीकरण गर्दै आएको हो भने अब मुलुकको अगुवा दलहरुले गर्नुपर्छ’, महासचिव गुरुङले भने , ‘‘अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प छैन । दलहरुको विकल्प छैन । दलीय प्रणालीको विकल्प छैन । राजनीतिक पृष्ठभूमि र राजनीतिक पृष्ठभूमिबाट आएको लिडरहरुको विकल्प छैन ।’
महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर, संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए ।
‘गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । एउटा सिंगो प्रचण्ड मात्रै बाँकी रहनु भएको छ । त्यसकारणले यो संकट पर्दाखेरी स्टेटम्यानसिप लिएका पात्रहरु अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ । मुलुकमा जुन समस्याहरु पैदा भएको छ । यो अवस्थामा मुलुकको अभिभावकको रुपमा रहेको, मुलुकको यो व्यवस्थाको प्रस्तावको रुपमा रहेको, यो मुलुकको संरक्षकको रुपमा रहेको नेतृत्व अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न आउँछ’, गुरुङले भने , ‘नर्मल रुपमा पनि यस्तो खालको संकटहरु पैदा भएको बेलामा मुलुकको संरक्षक, मुलुकको प्रस्ताव र मुलुकको अभिभावकहरु अगाडि बढन जरुरी छ भन्ने लाग्छ । अवको चुनौतिलाई फेस गर्नका लागि सायद माओवादी विचार, माओवादी चिन्तन, माओवादी दृष्टिकोण, त्यही आधारमा लिडरसिपको हिसावले पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो । तर संसदको अवस्था हेर्दाखेरी दलहरुबीच सम्झौताको बाटो खोज्छ ।’