
फिल्म ‘पठान’ को गीत ‘बेशराम रंग’ यतिबेला चर्चामा छ । वास्तवमा शाहरुख खान र दीपिका पादुकोणमा खिचिएको यस गीतमा अभिनेत्रीको कपडाको रंगले सामाजिक सञ्जालमा बहस मच्चाएको छ । दीपिकाले लगाएको केशर रंगको बिकिनीमा प्रश्न उठाउँदै धेरैले फिल्म बहिष्कार गर्ने घोषणा गरेका छन् । यद्यपि, यो गीतको समर्थनमा पनि धेरैजना छन् । बेशरम रंगमा दीपिकाको लुकको अहिले धेरै चर्चा भएको छ । त्यस्तै शाहरुखको लुकको बारेमा पनि चर्चा भइरहेको छ ।
गीतमा शाहरुखको लुकमा पानी जस्तै पैसा खर्च भएको छ । लाखौँ रुपैयाँ खर्च गरेर शाहरुख यस अवतारमा देखिएका छन् । गीतको एक दृश्यमा शाहरुखले प्रिन्टेड शर्ट लगाएको देखिन्छ । यो शर्ट मूल्य ६५ युरो अर्थात ९ हजार रुपैयाँ भन्दा बढी पर्छ ।
किंग खानले उक्त गीतमा लगाएको जुत्ताको मूल्य पनि कम छैन । मिडिया रिपोर्टका अनुसार यी जुत्ताको मूल्य करिब १ लाख ७७ हजार रुपैयाँभन्दा बढी रहेको छ । यस्तै गीतमा उनले प्रयोग गरेको चस्माको मूल्य ६६ रुपैयाँ रहेको बताइएको छ । जसअनुसार शाहरुखको लुकमा लाखौं खर्च भएको छ ।
शाहरुख खान ४ वर्षपछि ‘पठान’ मार्फत ठूलो पर्दामा फर्कने भएका छन् । यसअघि उनी ‘जिरो’ मा देखिएका थिए । आनन्द एल राई निर्देशित फिल्म बक्स अफिसमा फ्लप भयो । यो फिल्मपछि शाहरुखले आफूलाई फिल्मबाट टाढा राखेका थिए ।
अब लामो समयपछि शाहरुख सन् २०२३ मा तीनवटा फिल्ममा देखिदैछन् । ‘पठान’ बाहेक उनी ‘जवान’ र ‘डांकी’ मा पनि काम गरिरहेका छन् । उनका तीनवटै चलचित्रको दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।